खुकुरीको धारमा अडिएको प्रेम
खचाखच हलमा बसेर फिल्म हेर्नुको अनुभूति शब्दातीत हुन्छ । भीडमा अनेक पृष्ठभूमि, दर्शन र कलाचेतका दर्शक हुन्छन् । सबैका आ-आफ्ना जिन्दगी हुन्छन् । आफ्नै बोझ र हुन्छन् । तर, सयौं पृष्ठभूमिहरू एकै ठाउँमा बसेर समान भएका हुन्छन् । सयौं आँखा र सयौं कथाले एउटै कथा हेरिरहँदा उत्पन्न हुने भावले मलाई अक्सर रोमाञ्चित बनाउँछ । सिनेमा हलको यो चिरकालीन विशेषतालाई म चिरकालसम्म सम्मान गरिरहन्छु ।
म हलमा फिल्म मात्र हेर्न जाँदिनँ । मलाई दर्शकहरू पनि उत्तिकै रोचक लाग्छन् । कोही हाँसउठ्दा दृश्यमा गम्भीर भएर हेरिरहेका हुन्छन् । कोही गम्भीर दृश्यमा हाँसिरहेका हुन्छन् । कहिलेकाहीँ यस्तो भीडमा सन्नाटा हुन्छ । कहिले कुर्सीमा उफ्री-उफ्री छाती पिटेर हाँसिरहेका हुन्छन् । मानिसहरू रोचक प्राणी हुन् ।
Advertisement
‘केयर अफ कन्चरापालाम’ फिल्ममा एउटा संवाद छ, जहाँ मुख्य पात्र भन्छ “मलाई भगवानमा विश्वास लाग्दैन । म मानिसहरूमाथि विश्वास गर्छु ।” यो संवादले ममा धेरै प्रभाव पार्यो ।
मलाई पनि मानिसहरूमा विश्वास लाग्छ । मानिसहरू रोचक लाग्छन् । भगवान् इज बोरिङ । पिपुल आर नट ।
‘जारी’को क्रेज व्यापक रहेछ । कमेडी फिल्ममा मात्र दर्शकको रुचि छ भन्ने तर्कको विपरीत गम्भीर प्रकृतिको फिल्ममा पनि मानिस ओइरिए । मानिसहरू टिकट नपाएर फर्किरहेको पनि देखियो ।
नेपाली फिल्मका लागि यस्तो क्रेज देख्दा भित्रैदेखि आनन्द महसुस भयो । किन यस्तो क्रेज ? सायद दयाहाङ राईका कारण पनि होला । उपेन्द्र सुब्बाको नामले पनि होला । फिल्मको टिजर पनि भिन्न थियो । एउटा कवि निर्देशकको छाप प्रस्ट देख्न सकिन्थ्यो । बिदाको दिन पनि थियो । अनेक कारण थिए ।











