सरकारलाई गगन थापाको सुझाव : महाविपत्तिमा जसरी काम गरौँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली कांग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।
महामन्त्री थापाले भने– ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो मन्त्री वा प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ । ऊसलाई भ्याइनभ्याइ हुनुपर्दछ । त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नुपर्दछ । अनिमात्रै परिणाम दिन सकिन्छ ।’
Advertisement
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३/४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो । ‘यो सरकारमा बस्ने साथीहरुले गर्ने काम हो । हामी अहिले सरकारमा छौं । कांग्रेस सरकारमा छ । तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं । यहाँ बसेर हामीले परिणाम दिने हो’ थापाले भने, ‘यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अवको ३/४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन । स्थिति ठिक छैन, असहज छ । राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ ।’
महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदृढीकरण र शुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । थापाले भने, ‘हामी जेष्ठको अन्तिम साता दिन काँग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं । त्यसमा व्यापक रुपमा छलफल गरौं । र, यो साललाई काँग्रेसको सुद्धिकरण र काँग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं ।’











