बालेन विद्रोहको सङ्केत
काठमाडौँ महानगरका पिता बालेन्द्र शाह पछिल्लो समय नपत्याउँदो तरिकाले बालचरित्र प्रदर्शन गरिरहेका छन् । बेलाबेला उनले फेसबुक स्टाटसमार्फत असन्तुष्टि र बेचैनी प्रकट गरिरहन्छन् । सामान्य नागरिकले राज्यसँग गुनासो खबदारी र धम्की दिएजसरी आफ्नो पदीय, मर्यादा र गरिमाविपरीत गतिविधि गरिरहेका पाइन्छन् ।
केही गर्छु भन्ने हुटहुटी लिएर आएका बालेन्द्रले काठमाडौँमा केही सुधारका सङ्केत देखिने काम गरेकै छन्, कति गर्दै छन् । यससँग बाल हठझैँ आफ्नो मर्यादाबाहिर गएको आरोप पनि उनलाई छ । सरकारसँग टकरावमा जाने सङ्केत आइतबारदेखि सिंहदरबार, बालुवाटार र शीतलनिवासबाट फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएको कुरा सार्वजनिक भएका छन् ।
Advertisement
अहिले बालेन शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा जति छ, त्यति नै नागरिक तहबाट खबरदारी आवश्यक छ । किनभने उनी दलविहीन व्यक्ति भएकाले उनलाई भोलिको घाटाबारे खासै मतलब हुँदैन । दलीय व्यवस्थामा व्यक्ति गौण र दल प्रधान विषय रहन्छ । तसर्थ बालेनलाई नागरिक खबरदारी जरुरी रहेको हो । उनी व्यक्ति भएको हुनाले दल रिझाउनुपर्ने अवस्था छैन । तर एक्लो व्यक्तिले कार्यकारी अधिकार प्राप्त नै भए पनि बहुदलीय व्यवस्थामा दल रिझाएर काम कार्यान्वयन गराउनुपर्छ । पालिकाभित्र कुनै पनि निर्णय कार्यान्वयन गराउन बहुमतको सहारा लिनुपर्ने वैधानिक बाध्यता हुन्छ ।
नगरपालिकाको निर्णय नगरसभाबाट पारित गराउनुपर्छ । त्यसो गर्न निर्दलीय नेता बालेनसँग अन्य पार्टीको सहमति र सदाशयता चाहिन्छ । सदाशयता खोज्दा अर्काे दल र प्रतिनिधिसँग प्रत्यक्ष–परोक्ष नाजायज सम्झौता अर्थात् सम्बन्धित दलका नेता र तिनको स्वार्थ मिलाउनुपर्ने अवस्था सिर्जना हुन्छ । महानगरको कार्यकारी व्यक्ति भए पनि स्थानीय र सङ्घीय सरकारसँगको समन्वयबिना कुनै पनि कार्य गर्न असहज हुन्छ ।











